दफा १००
बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बैंकले जारी गरेको आदेश वा निर्देशनको उल्लङ्घन बैंकबाट ईजाजतपत्र प्राप्त कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाले गरेमा त्यस्तो वाणिज्य बैंक वा वित्तीय संस्थालाई बैंकले देहाय बमोजिमको एक वा एक भन्दा बढी सजाय गर्न सक्नेछः– (क) सचेत गराउने वा लिखित चेतावनी दिने । (ख) सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कवुलियतनामा गराउने । (ग) बारम्बार हुने उल्लङ्घन अन्त गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्नका लागि लिखित आदेश जारी गर्ने । (घ) बैंकले दिने सेवा निलम्बन वा अन्त गर्ने । (ङ) वाणिज्य बैंक वा वित्तीय संस्थाले आफनोे शेयर होल्डरलाई दिने लाभांशको बितरणमा प्रतिबन्ध लगाउने । (च) वाणिज्य बैंक वा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जामा प्रतिबन्ध लगाउने । (छ) वाणिज्य बैंक वा वित्तीय संस्थाको कारोबारमा आंशिक वा पुर्ण प्रतिबन्ध लगाउने । (ज) बाणिज्य बैंक वा वित्तीय संस्थाको ईजाजतपत्र निलम्बन वा रद्द गर्ने । (२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बैंकले जारी गरेको आदेश वा निर्देशन बैंकबाट ईजाजतपत्र प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाका सञ्चालक वा पदाधिकारी वा कर्मचारीले उल्लङ्घन गरेमा वा निजहरुले निक्षेपकर्ता वा सर्वसाधारणको हित विपरीत काम गरेको वा निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा बैंक वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले माग गरेको कागजात, विवरण वा तथ्याड्ढ तोकिएको समय भित्र पेश नगरेमा त्यस्तो सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बैंकले देहाय बमोजिमको सजाय गर्न सक्नेछ ः– (क) सचेत गराउने वा नसीहत दिने । (ख) निलम्बनमा राख्ने । (ग) पाँच लाख रुपैयाँसम्म नगद जरिबाना गर्ने । (घ) तलब, भत्ता लगायतका सम्पूर्ण सुबिधाहरु दिन बन्द गराउन सम्बन्धित वाणिज्य बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिलाई आदेश दिने । (ङ) सञ्चालकलाई सञ्चालक पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकास दिन लगाउन सम्बन्धित वाणिज्य बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिलाई आदेश दिने ।